रौतहट ।
रौतहटा जिल्लामा पछिल्लो एक सातादेखि चलेको शीतलहरका कारण अत्यधिक चिसो बढेको छ, जसले गर्दा विद्यालयहरू बन्द हुन थालेका छन्। बिहानैदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेको छ र यसले विद्यार्थीहरूलाई पठन पाठनमा समस्या उत्पन्न गरेको छ। यसका कारण रौतहटका विभिन्न पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
रौतहटका सामुदायिक र निजी विद्यालयहरू बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णयमा पुगेका छन्। गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
चिसो बढेसँगै मौसम परिवर्तनले पठनपाठनमा समस्या ल्याएको र वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उल्लेख गरिएको छ। रौतहटा जिल्लाका १८ स्थानीय तहका अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन्।
पछिल्लो एक सातादेखि मधेस प्रदेशमा शीतलहरको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।