काठमाडौं ।
अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोले हालसम्म १ हजार १ सय भन्दा बढी घर नष्ट गरेको छ भने पाँच जनाको ज्यान गएको छ। यो डढेलोलाई अमेरिकी अधिकारीहरूले सबैभन्दा विनाशकारी भनेका छन्।
डढेलो मंगलबार बिहान प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट सुरु भएको थियो, जुन सान्टा मोनिका पहाडको पर्यटकीय क्षेत्र हो। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले क्षेत्रको निरीक्षण गरेपछि आपत्काल घोषणा गरेका छन्। उनले भनेका छन् कि खतराबाट कोही पनि सुरक्षित छैनन् र अहिलेको हावाको वेगले आगो नियन्त्रणमा चुनौती थपेको छ। ९७ किलोमिटर प्रतिघण्टाको हावाको वेगले पाँच मिनेटमा पाँच ठूला फुटबल मैदानजत्रा क्षेत्रहरू नष्ट गरिरहेको छ।
डढेलोको कारण दशौं हजार व्यक्ति प्रभावित भएका छन् र ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ भने विद्यालयहरू पनि बन्द छन्। अग्नि नियन्त्रकहरू पाँच वटा हेलिकोप्टर र दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् तर हावाको वेग र सूखा वनस्पतिको कारण प्रयासहरू सफल हुन सकेका छैनन्। डढेलोले करिब १६ हजार एकड क्षेत्रफल नष्ट गरिसकेको छ।
डढेलोका कारण विभिन्न स्थानमा भागदौड मच्चिएको छ र मानिसहरू सडकमै सवारी साधन छाडेर भागेका छन्। केही स्थानमा बाटो खुलाउन डोजरको प्रयोग गर्नुपरेको छ। प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्दै आएका चर्चित कलाकारहरूले पनि आफ्ना घर छाडेका छन्।