नवलपरासी ।
चितवनको माडी नगरपालिका–१ मा रहेको रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ।
धार्मिक र पुरातात्विक महत्त्व भएको यस स्थलको विकास र प्रचारप्रसारमा ठोस पहल नहुँदा आश्रमले अपेक्षित ध्यान पाउन सकेको छैन ।
मन्दिरका मूल पुजारी शिखर सुवेदीले भग्नावशेषहरूको संरक्षण र थप विकास आवश्यक रहेको बताए।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रमलाई संरक्षण र विकास गर्न प्रयासरत रहेको तर राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या भएको जनाइन्।
वडाअध्यक्ष अमितकुमार लामाले वडास्तरमा केही सुधारका काम भए पनि ठूला संरचना विकासका लागि सरकारको पहल आवश्यक रहेको बताए।
आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने र जङ्गली जनावरको जोखिम रहेको श्रद्धालुहरूले बताउने गरेका छन्।