गण्डकी ।
राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्की–बागलुङ खण्डको १९३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। कुल २५० किलोमिटर खण्डमध्ये ५१ किलोमिटर सडकको स्तरोन्नति कार्य जारी रहेको छ। कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किलोमिटर र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ।
आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले भैँसेदेखि रुदीखोलासम्म १६ किलोमिटर सडक निर्माण सम्पन्न भई मालढुङ्गादेखि उपल्लाचौरसम्मको सडक चौडा र स्तरोन्नतिको तयारी भइरहेको जानकारी दिए। घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
सडक स्तरोन्नतिसँगै पाँच पुल निर्माणाधीन छन्, र मोदी तथा पाती खोलामा थप पुलका लागि ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको प्रक्रियामा रहेको छ। चालु आर्थिक वर्षमा ७६ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा २० करोड ४० लाख खर्च भइसकेको छ। निर्माण ढिलाइका कारण ठेक्काको म्याद चैतसम्म थप गरिएको छ।