झापा ।
झापा, नेपाल— नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ। नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णयअनुसार नेपालतर्फको मर्मतसम्भार कार्य सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाले थालेको हो। गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईका अनुसार मर्मत कार्य मेचीनगर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५/१२ बाट सुरु गरिएको छ।
झापा जिल्लाको एक सय ४४ दशमलव दुई किलोमिटर लामो नेपाल–भारत सीमाक्षेत्रमा रहेका एक सय सात सीमास्तम्भको मर्मत गरिने छ। सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), र स्थानीयवासीको सहभागितामा मर्मत कार्य थालिएको हो।
सन् २०१४ पछि निर्माण भएका बिजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मत गर्ने र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मत गर्ने सहमतिअनुसार गत वर्षदेखि दुवै देशमा सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ।