प्रचण्डले तेह्रथुमका दुई सहिद पार्कको उद्घाटन गर्ने, कार्यक्रम माघ १४ गते तय
प्रचण्डले तेह्रथुमका दुई सहिद पार्कको उद्घाटन गर्ने, कार्यक्रम माघ १४ गते तय
    • बेल संचार

    • २६ पुष २०८१, शुक्रबार

काठमाडौँ ।

तेह्रथुममा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ १४ गते गर्ने भएका छन्। उक्त दिन, प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालीगुराँस नगरपालिकामा रहेको धनरूपा सहिद स्मृति पार्कको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

नेपालको माओवादी आन्दोलनका इतिहाससँग जोडिएका यी सहिद पार्कहरू जनयुद्धका शहिदहरूको सम्मान गर्ने स्थान मात्र नभई, तेह्रथुमको पर्यटकीय गन्तव्यको रूपमा पनि विकसित हुँदै गएका छन्। बगाले सहिद स्मृति पार्कमा २०५८ साल माघ १४ गते तत्कालीन राज्य पक्षबाट हत्या भएका २१ जनाका शहिदहरूको अर्धकदको सालिक निर्माण गरिएको छ। यस घटनामा जनमुक्ति सेनाका १८ घाइते र ३ स्थानीय जनताको हत्या भएको थियो। त्यस्तै, धनरूपा सहिद स्मृति पार्कमा लालीगुराँसका ६ जना शहिदहरूको स्मारक निर्माण गरिएको छ।

माघ १४ गतेको उद्घाटन समारोहमा लालीगुराँसको वसन्तपुर सहिद स्मृति सभाहल र बगालेमा जनयुद्ध र शान्ति संग्राहलयको शिलान्यास, माओवादी आन्दोलनका अभियानकर्मी स्वर्गीय भक्तराज कन्दङवाको सालिक अनावरण र जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम पनि आयोजना हुनेछन्।

प्रचण्डले यस दिन लालीगुराँस नगरपालिकामा रहेको सांस्कृतिक पार्क चोरुलुङको अवलोकन गर्ने कार्यक्रम पनि तय भएको छ। यससँगै, माओवादी आन्दोलनका ऐतिहासिक स्थल र सम्झनाहरूलाई सम्मान गर्दै तेह्रथुमका यी सहिद पार्कहरूको उद्घाटन र अन्य कार्यक्रमहरू स्थानीय र राष्ट्रियस्तरमा ठूलो चासो र महत्त्वका साथ आयोजना हुँदैछन्।

साताकाे चर्चित
सम्बन्धित