पशुपन्छी, बाली र जडीबुटी बीमाको तथ्यांक राख्न मन्त्री शाहको निर्देशन
पशुपन्छी, बाली र जडीबुटी बीमाको तथ्यांक राख्न मन्त्री शाहको निर्देशन
    • बेल संचार

    • २६ पुष २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि, र सहकारी मन्त्री विनोदकुमार शाहले बीमा कम्पनीहरू र मन्त्रालय अन्तर्गतका कार्यालयहरूलाई पशुपन्छी बीमा, बाली बीमा, र जडीबुटी बीमाको तथ्यांक व्यवस्थित रूपमा राख्न निर्देशन दिएका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पशुपन्छी बीमासम्बन्धी सरोकारवालाहरूको कार्यशालामा मन्त्री शाहले बीमा कम्पनीहरूले बीमा गरेका पशुपन्छीहरूको अभिलेख राख्नुपर्नेमा जोड दिए। कार्यशालामा सहभागी बीमा कम्पनीका कर्मचारीहरूले बीमाको तथ्यांक नराखेको देखिएपछि उनले यो निर्देशन दिएका हुन्।

मन्त्री शाहले किसानहरूलाई बीमा गर्नुअघि सम्बन्धित ज्ञान प्रदान गर्नु आवश्यक रहेकोमा पनि जोड दिए। उनले भने, “पशुपन्छी पालन गर्ने किसानहरूलाई उनीहरूले गर्ने बीमाबारे जानकारी गराउन आवश्यक छ। यदि किसानहरूलाई यसको राम्रोसँग बुझाउन सकिएन भने बीमा कार्यक्रम सफल हुँदैन। त्यसैले किसानहरूको आवश्यकता अनुसार बीमा कम्पनीहरूले बीमा गराउनु पर्दछ।”

त्यसैगरी, मन्त्री शाहले स्थानीय तह र मन्त्रालय मातहतका जिल्ला कार्यालयहरूलाई बीमा कार्यक्रमको प्रभावकारी परिणाम ल्याउने गरी काम गर्न सुझाव दिए।

सचिव टीकाराम थापाले पनि बीमासम्बन्धी ऐन, कानून, नियमावली, र निर्देशिकाहरूको अध्ययन गरी किसानहरूलाई बुझाएर मात्र बीमा गर्न सुझाव दिए।

 

साताकाे चर्चित
सम्बन्धित