जुम्ला ।
जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा आगामी माघ महिनाबाट सुरु हुने भएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी भइसकेको छ। यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइन सिफारिसको विषयमा छलफल पनि सम्पन्न गरिएको छ।
प्रजिअ शाहीले थप जानकारी दिँदै भने, “गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो। यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ र अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ।”