लोमश वाङ्मय प्रतिष्ठानद्वारा ‘पद्यकुञ्ज’ माथि परिचर्चा र साहित्यिक यात्रा सम्पन्न
लोमश वाङ्मय प्रतिष्ठानद्वारा ‘पद्यकुञ्ज’ माथि परिचर्चा र साहित्यिक यात्रा सम्पन्न
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

काठमाडौं।

छोटो समयमा नै साहित्यिक क्षेत्रको महत्त्वपूर्ण संस्था बन्न सफल लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको ‘पद्यकुञ्ज’ कृतिमाथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को सभापतित्वमा सम्पन्न भयो भने प्रमुख अतिथिको रुपमा डा. अमर गिरीको उपस्थिति रहेको थियो। सचिव नवीन पल्लवले सन्चालन गरेको यो कार्यक्रम प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तारकेश्वर, शान्तिटोलको सभाहलमा सम्पन्न भएको थियो।

स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए। प्रतिष्ठानका कार्यसमिति सदस्य अप्सरा के.सी.ले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै साहित्य प्रेमीहरूप्रति हार्दिक अभिवादन व्यक्त गरिन्।

विशेष वक्ताको रुपमा शैलेन्द्रप्रकाश नेपालले ‘पद्यकुञ्ज’ कृतिमाथि आफ्नो धारणा राख्दै कवितालाई सरल र बुझ्न सजिलो बनाउनु पर्ने सुझाव दिए। उनले नेपाली कविताको समग्र स्थिति र छन्द कविताको विशेषताबारे चर्चा गरे। नेपालले सर्जक पोखरेलको कृति नयाँ स्वादसहित साहित्य प्रेमीहरूमाझ आएको बताए।

कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान डंगोल, सुचक प्रकाशनका अध्यक्ष दीपक भेटवाल लगायत विभिन्न क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो। उनीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।

प्रमुख अतिथि डा. अमर गिरीले नेपाली साहित्यको गुणस्तरमा सुधार नआएकोमा चिन्ता व्यक्त गरे। उनले सर्जकहरूको संख्यामा बृद्धि भए पनि गुणस्तरमा सुधार गर्न अझै मेहनत गर्नुपर्ने बताए।

अन्त्यमा, अध्यक्ष माधव घिमिरे ‘अटल’ले यस्ता कार्यक्रमले सर्जक र श्रष्टाहरूलाई एउटै मञ्चमा राखेर नयाँ सिर्जना उत्पन्न गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले संस्थाका गतिविधिहरूलाई प्रभावकारी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

प्रतिष्ठानले प्रत्येक महिनाको अन्तिम शनिबार फरक विधाका श्रष्टा र सर्जकहरूसँग अन्तरक्रिया तथा कृतिहरूमाथि परिचर्चा कार्यक्रम गरिरहेको छ। यसै क्रममा संस्थाले अक्षयकोष स्थापना गर्दै आजीवन सदस्यता अभियान पनि सञ्चालन गरिरहेको छ। साथै, साहित्यिक कृति प्रकाशनमा सहजिकरण गर्ने र सात कक्षाका एक विद्यार्थीको कृति प्रकाशन तयारीमा रहेको सचिव नवीन पल्लवले जानकारी दिए।

कार्यक्रमले साहित्यप्रेमी दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

साताकाे चर्चित
सम्बन्धित