एलिसन स्पोर्ट्स प्रा. लि. द्वारा आयोजित प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलतापूर्वक सम्पन्न
एलिसन स्पोर्ट्स प्रा. लि. द्वारा आयोजित प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलतापूर्वक सम्पन्न
    • बिर बहादुर राना

    • १ माघ २०८१, मंगलवार

काठमाडौं

एलिसन स्पोट्र्स प्रा. लि. को आयोजनामा प्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त खेल पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा आयोजना गरिएको थियो ।
उक्त खेल दुई समूहमा विभाजन गरी खेलाइएको थियो, जसमा जूनियर महिला टिम र सिनियर महिला टिम समावेश थिए ।

उक्त प्रतियोगिताको सिनियर तर्फको उपाधि संकटाको महिला फुटबल टिमले आफ्नो नाममा दर्ता गर्न सफल भएको छ। त्यस्तै, जूनियर तर्फको प्रतिस्पर्धामा पनि संकटा महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।

यसैगरी, प्रतियोगिताको द्वितीय स्थान सिनियरतर्फ हलेसी फुटबल क्लबले प्राप्त गर्न सफल भयो । त्यस्तै, जूनियरतर्फको उपविजेताको उपाधि स्टुडेन्ट फुटबल क्लब ‘ए’ ले आफ्नो नाममा दर्ता गर्न सफल भयो। प्रतियोगितामा दुबै टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए ।

आज सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिनियरतर्फ पुनम चेम्जोङले र जूनियरतर्फ रेणुका शर्माले क्रमशः उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) को उपाधि प्राप्त गरेका छन्। त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि सिनियरतर्फ झर्ना राई र जूनियरतर्फ न्याहाँ पाण्डेले आफ्नो नाममा दर्ता गर्न सफल भएका छन्। उत्कृष्ट खेल कौशल देखाउँदै उनीहरूले टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन कृषि विकास बैंकले गरेको हो। त्यस्तै, प्रतियोगिता सफल बनाउन नेपाल टेलिकम, एशियन थाई फुड्स, आमा बेकरी, र नेपाल एयरलाइन्सले महत्वपूर्ण सहयोग प्रदान गरेका छन्। यी संस्थाहरूको सहयोगले प्रतियोगितालाई थप प्रभावकारी र भव्य बनाउन मद्दत पुगेको आयोजक एलिसन स्पोट्र्स प्रा. लि.का अध्यक्ष सगुन थापा मगरले बताएका छन् ।

 

त्यस्तै, प्रतियोगितालाई सफल बनाउन एमएस प्रोडक्सन प्रा. लि., एन्जल फेस र पिङ्क भिल्लाले समेत सहयोग गरेका थिए। साथै, विजेता टिमहरूलाई प्रदान गरिएको गिफ्ट ह्याम्पर सेन्ट्रल फेशन स्कूल र जोयले प्रायोजन गरेका थिए। आयोजकले सबै प्रायोजक संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । साथै, मिडिया पार्टनरको रूपमा बेल मिडिया प्रा. लि. समावेश थियो, र उक्त खेल गोल नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

समापन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्षले विजेता, उपविजेता, उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) र उत्कृष्ट गोलकिपर (बेस्ट किपर) लाई पुरस्कार, ट्रफी र पदक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्मानजनक र भव्य बनाउन उहाँको उपस्थिति महत्वपूर्ण रहेको थियो ।

 

एलिसन स्पोट्र्स प्रा. लि. का अध्यक्षले समापन कार्यक्रममा बोल्दै यो वर्षको खेल अपेक्षा अनुसार निकै सफल भएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा हुने प्रतियोगिताहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यस प्रतियोगिताबाट धेरै उपयोगी सिकाइहरू हासिल भएको जानकारी दिनुभयो। साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, प्रायोजक, मिडिया प्रतिनिधि र सहभागी टिमहरूप्रति विशेष आभार प्रकट गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित