मुस्ताङ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी भएको छ। जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा भएको यस आगलागीमा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन्। तिवारीलाई हात र औलामा आगोले पोलेर घाइते भएका छन् र उपचारका लागि पोखरा पठाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार, तिवारीको अवस्था खतरामुक्त रहेको छ।
आगलागी हुँदा हवल्दार तिवारीको सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन्। आगलागीपछि तिवारी झ्यालबाट हाम फालेर बाहिर निस्केका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुमान अनुसार, आगलागी विद्युत् चुहावटका कारण भएको हुनसक्ने बताइएको छ।