कास्की।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक र उन्नत बनाउन सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा विभिन्न क्षेत्रमा परिवर्तन र प्रगति भइरहेको उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर सरकार अघि बढिरहेको स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ भन्ने धारणा राख्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै मिर्गौला प्रत्यारोपणजस्ता विशेष उपलब्धिहरूले उत्तर दिएको बताए। उनले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु प्रतिष्ठानको ठूलो उपलब्धि भएको जनाए।
उनले नेपालको गौरवशाली इतिहासमा आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा प्रणालीको सुरुवात भएको स्मरण गराउँदै अब सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासलाई तीव्रता दिने लक्ष्य रहेको बताए। प्रधानमन्त्री ओलीले चीनले छोटो समयमा गरिबी उन्मूलन गरेको उदाहरण दिँदै नेपालले पनि आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिए।
दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले उत्तीर्ण विद्यार्थीहरुलाई समाजका लागि उपयोगी, इमानदार र आदर्शवान बन्न शुभकामना दिएका छन्। उनले दीक्षित विद्यार्थीहरूलाई समाज र राष्ट्रको सेवा गर्न उत्प्रेरित गर्दै अभिभावक र विद्यार्थीको लगानीको प्रतिफल प्राप्त भएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित गर्दै उत्कृष्ट विद्यार्थी अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक प्रदान गरे। साथै, ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन गरे।
समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडल, स्वीडेनको कारोलिनस्का इन्स्टिच्युटका प्रा. माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण दिए। प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षेत्रीले अस्पतालको सेवा विस्तार अन्तर्गत ५० श्यैयाको आकस्मिक विभाग सञ्चालनको तयारी भइरहेको जानकारी दिए।