पक्षाघात उपचारका लागि महँगो औषधी निःशुल्क वितरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
पक्षाघात उपचारका लागि महँगो औषधी निःशुल्क वितरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
    • बेल संचार

    • ३ माघ २०८१, बिहीबार

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ र महँगो पक्षाघात उपचारका लागि आवश्यक थ्रोम्बोलाइटिक ड्रग्स निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। मन्त्री पौडेलले पोखरामा आयोजित कार्यक्रममा औषधीको पहुँच नहुँदा पक्षाघातका कारण हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान जाने समस्यालाई रोक्न यो कदम उठाइएको बताए।

औषधीको दुर्लभता र महँगो मूल्यका कारण धेरै मानिसको ज्यान जाने स्थिति रहेकाले सरकारले औषधी संघीय र प्रदेश अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। यो औषधी एक मात्रा सेवन गर्दा पक्षाघातको सफल निदान सम्भव हुने चिकित्सकहरूको भनाइ छ। औषधीको एक मात्राको मूल्य झण्डै एक लाख ३८ हजार पर्ने भएकाले सामान्य व्यक्तिले खरिद गर्न कठिन भएको र यसै कारणले धेरैको ज्यान जाने गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस योजनामा अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफको सहयोग रहेको छ। मन्त्रालय र डाइरेक्ट रिलिफबीच पाँच वर्षका लागि औषधी उपलब्ध गराउने सम्झौता भएको छ। यो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता संस्थाले जनाएको छ।

मन्त्रालयले संघीय र प्रदेश अस्पतालमा औषधी वितरण तथा उपचारको व्यवस्थापनका लागि निर्देशिका बनाउने प्रक्रिया अघि बढाएको छ। यो निर्देशिका लागू भएपछि थ्रोम्बोलाइटिक औषधी सहजै उपलब्ध हुनेछ।

न्यूरो चिकित्सक डा. राजु पौडेलले यो निर्णयलाई नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। यस कदमले पक्षाघातबाट ज्यान जाने संख्या कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित