अछाम ।
डोटी भूकम्पबाट प्रभावित घरहरूको पुनर्निर्माण प्रक्रिया अछामबाट सुरु भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै कार्य प्रारम्भ भएको जानकारी दिए।
विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापना अनुदान कार्यविधि, २०८१ अनुसार कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राही खण्टी कामीबीच बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। यस पुनर्निर्माण कार्यका लागि रु ४ लाख खर्च हुनेछ र उक्त रकम स्थानीय तहबाट भुक्तान गरिने जानकारी प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार, भूकम्पबाट पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माणका लागि रु ४ लाख, आंशिक क्षतिको हकमा रु १ लाख र सामान्य क्षति भएका घरहरूलाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ।
डोटी केन्द्रविन्दु भएर विसं २०७९ कात्तिक २२ गते गएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका ५,५४० घर प्रभावित भएका थिए। मङ्गलसेन नगरपालिकामा ४५६, कमलबजार नगरपालिकामा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा २,४२८, रामारोशन गाउँपालिकामा २००, मेल्लेख गाउँपालिकामा ६०३, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ घरमा क्षति पुगेको थियो।