डा. भीम रावलको मातृभूमि जागरण अभियान : वैकल्पिक राजनीतिक शक्तिको निर्माणको प्रयास
डा. भीम रावलको मातृभूमि जागरण अभियान : वैकल्पिक राजनीतिक शक्तिको निर्माणको प्रयास
    • बेल संचार

    • ४ माघ २०८१, शुक्रबार

धनगढी ।

नेकपा एमालेबाट बहिर्गमनपछि डा. भीम रावलले ‘मातृभूमि जागरण अभियान’ संचालन गरी सबै देशभक्तहरुलाई समेटेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दाबी गरेका छन्। शुक्रबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँगको भेटमा उनले यो अभियानमा काठमाडौंका मेयर बालेन साहलाई पनि समेटेर अघि बढ्दा राम्रो हुने धारणा व्यक्त गरे।

पूर्वगृहमन्त्री रावलले पत्रकारहरूसँगको भेटमा देशको वर्तमान राजनीतिक अवस्थालाई परिवर्तन गर्न सबैलाई एकताबद्ध गर्ने खाँचो रहेको बताए। उनले भने, “बालेनजीसहित जो-जो छन्, ती सबैलाई राष्ट्रको हितमा एकजुट गराएर अगाडि बढ्नुपर्छ।”

रावलले रास्वपा सभापति रवि लामिछानेबारे अदालतमा विचाराधीन विषयमा टिप्पणी नगर्ने बताए। त्यस्तै, राजावादीहरूसँगको भेटघाटबारे प्रश्नमा उनले देशको अवस्था परिवर्तन गर्न विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्नु स्वाभाविक रहेको बताए। पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि रावल सहभागी भएका थिए।

रावलले ठूला राजनीतिक दलहरू गन्तव्यहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै देशभक्तहरुलाई एक ठाउँमा आउन आह्वान गरे। उनले भने, “प्रधानमन्त्रीदेखि राजनीतिक नियुक्तिहरूमा भागबण्डा गरेर खाने चलन रोक्नुपर्छ।”

एमालेबाट निष्कासनपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने घोषणा गरेका थिए। मातृभूमि जागरण अभियानलाई पार्टीको स्वरुप दिने योजनासहित रावलले देशव्यापी दौडाहामा छन्।

उनले भने, “हिमालमा सानो देखिने हिउँको डल्लो गुड्दै जाँदा हिम आँधीको रुप लिन्छ। हाम्रो अभियान पनि यस्तै ठूलो रुप लिनेछ।”

साताकाे चर्चित
सम्बन्धित