सर्लाही ।
तराई क्षेत्रमा केही दिनयता बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ। चिसो हावासँगै शीत झरिरहेकाले जनजीवन थप कठिन भएको हो।
तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरे पनि यस वर्ष जलवायु परिवर्तनका कारण केही फरक देखिएको छ। कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ। बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन्। सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ।
कुहिरोका कारण किसानहरूले खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधि प्रभावित भएका छन्। हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिएका छन्।
कुहिरो र चिसो हावाले दैनिक कामकाजमा अवरोध ल्याएको छ। साथै, स्वास्थ्यसम्बन्धी समस्या पनि बढेको छ। बालबालिका, वृद्धवृद्धा र ज्यालादारी मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढेको प्रादेशिक अस्पतालका डा. अविनाश सिंहले बताएका छन्। चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयरका चिकित्सक डा. गुणेश्वर झाले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रशासनले न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न, र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन अनुरोध गरेको छ। समाजसेवी संस्थाहरूले विभिन्न स्थानमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था गरेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अति विपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ।