काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको बताएका छन्। काठमाडौँको टोखामा जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै मन्त्री पौडेलले १० देखि १४ वर्षका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउने योजना रहेको जानकारी दिए।
“महिलामा क्यान्सर हुन नदिन माघ २२ देखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप प्रदान गरिनेछ,” उनले भने। मन्त्री पौडेलले किशोरीहरूका लागि पाँचवटा अस्पतालमा क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गरिएको र पक्षघातको औषधि निःशुल्क वितरण गरिने कार्ययोजना पनि अगाडि बढाइएको बताए।
स्वास्थ्य बीमाको रकम बढाउने योजना
मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बीमाको रकम बढाउने सरकारको योजना रहेको उल्लेख गरे। “हाल स्वास्थ्य बीमाको रकम रु एक लाख रहेको छ, हामी यसलाई बढाएर रु पाँच लाख बनाउने तयारीमा छौँ,” उनले भने। स्वास्थ्य क्षेत्र सुधार भए पनि अझै पर्याप्त नभएकोमा उनले जोड दिए।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिकालाई प्रशंसा गर्दै समाजसेवामा निरन्तरता दिन आग्रह गरे। जनकल्याण सामाजिक केन्द्रले टोखा क्षेत्रको समाज र स्वास्थ्य विकासमा महत्त्वपूर्ण योगदान दिएको उनले बताए।
जनकल्याण सामाजिक केन्द्रको योगदान
वि.सं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म तीन सय ५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका कार्यक्रम सञ्चालन गरिसकेको छ। केन्द्रका अध्यक्ष विकासकुमार दासले यो जानकारी दिएका हुन्।
अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो। विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको छ।