राप्ती नदीमा जलचराको गणना सुरु, संरक्षणमा चुनौती
राप्ती नदीमा जलचराको गणना सुरु, संरक्षणमा चुनौती
    • बेल संचार

    • ६ माघ २०८१, आईतवार

जानकी ।

राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरु गरिएको छ। बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार, मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना प्रारम्भ गरिएको हो।

“प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाट जलचराको गणना सुरु गरेका छौँ,” कँडेलले भने। “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्।” उनले थपे कि, चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन्।

चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गएको बताएका छन्। नदी, सिमसार क्षेत्र र जलाशयमा मानवीय गतिविधिले चराको बासस्थान लोप भएको उनका अनुसार, “खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले यसको बासस्थान लोप हुँदै गइरहेको छ।”

विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना भइरहेका छ, र यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए। उनले भने, “बाँकेका नदी, सिमसार क्षेत्र र जलाशयमा आगन्तुक चराको समेत बासस्थान रहेको पाइएको छ।”

तर, चराको बासस्थानमा भइरहेका निर्माण कार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग र मानिसको बढ्दो आवतजावतले चराको बासस्थान लोप भइरहेको छ, चौधरीले भने। “मानवीय गतिविधिका कारण चराको बासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ,” उनले भने। “हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक छ।”

चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी र सुरक्षाकर्मीको टोली शनिबारदेखि राप्ती नदीमा चरा गणनाका लागि परिचालित भएको छ। उक्त टोलीले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र र जलाशयमा पुगेर चरा गणना गरिरहेको बाँके निकुञ्जले जनाएको छ।

गणनाका क्रममा टोलीले नेपालगञ्जस्थित कान्ति ताल, बैजनाथको सुतैया ताल र बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानमा पुग्ने जानकारी पनि दिइएको छ। नेपालगञ्जस्थित कान्ति तालमा संरक्षित पन्छी सारसको बासस्थान रहेको छ, र यो गणना बाँकेमा तेस्रोपटक गरिएको हो।

साताकाे चर्चित
सम्बन्धित