किवीको बिरुवा बिक्री गरेर लक्ष्मण थापामगरको रु पाँच लाख वार्षिक आम्दानी
किवीको बिरुवा बिक्री गरेर लक्ष्मण थापामगरको रु पाँच लाख वार्षिक आम्दानी
    • बेल संचार

    • ६ माघ २०८१, आईतवार

डडेल्धुरा ।

आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले किवीको बिरुवा बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन्। उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन्। थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन्।

उनको फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ। थापामगरले आलिताल–२ को लामिटुडामा रहेको फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन्। लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवी खेती गर्दै किवीको बेर्ना समेत उत्पादन गरिरहेका छन्।

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको थापाले जानकारी दिए। उनले किवीका बिरुवा किसानहरूको मागअनुसार उपलब्ध गराइरहेको र प्रत्येक बिरुवा रु १५० का दरले बिक्री गरिरहेको बताए। उनले डेढ रोपनी क्षेत्रफलमा किवीको बेर्ना उत्पादन गरिरहेका छन्, जसलाई जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने बताउँदै किवीको बेर्नाबाट वार्षिक रु पाँच लाख आम्दानी गरेको जानकारी दिए। किवीखेती सुरु गर्दा उनले प्रत्येक बिरुवा रु पाँच सयका दरले किनेर लगाएको बताएका छन्।

अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन्। किसानहरूले एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिने र बजारको अभाव नहुने भएकाले किवीखेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले भने, “किवीखेतीका लागि मौसमअनुसार डडेल्धुरा उपयुक्त मानिन्छ, त्यसैले किसान बढी आकर्षित भएका छन्।”

साताकाे चर्चित
सम्बन्धित