मदन भण्डारी राजमार्गको निर्माणमा वन विभागको अनुमति अभावले असर
मदन भण्डारी राजमार्गको निर्माणमा वन विभागको अनुमति अभावले असर
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

झापा

वन विभागबाट रुख कटानको अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माणमा बाधा पुगेको छ। झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ९५.८ किलोमिटर लामो पूर्वी खण्डको निर्माण कार्य प्रभावित भएको छ। उक्त खण्डमा ३७ वटा पुल समेटिएका छन्।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार झापा, इलाम, मोरङ, र सुनसरी जिल्लाका २४.५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्छ। यस क्षेत्रमा ५१ हेक्टर जग्गामा रहेका १३,८३४ वटा रुख कटान गर्नुपर्ने भएकाले अनुमति नपाउँदा निर्माण कार्यमा ढिलाइ भइरहेको छ।

मन्त्रिपरिषद्ले मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर वन क्षेत्रको ३५ हेक्टर जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ। तर, झापा र इलाम जिल्लाका १६ हेक्टर वन क्षेत्रका ६,२७१ वटा रुख कटानको अनुमति अझै प्राप्त भइसकेको छैन।

दत्तले भोगाधिकार र रुख कटानको फाइल हाल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको बताए। “रुख कटानको अनुमति नपाउँदा आयोजना समयमा सम्पन्न गर्न चुनौती भएको छ,” उनले भने। कतिपय पुलको पहुँच सडकको रेखाङ्कन वन क्षेत्र पर्ने भएकाले कार्य सम्पन्नमा ढिलाइ भएको छ।

हालसम्म ९५.८ किलोमिटर पूर्वी खण्डको ४१.६८ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने २२ वटा पुल निर्माण सम्पन्न भएको छ। पूर्वको झापा देखि पश्चिमको डडेल्धुरा जोड्ने एक हजार दुई सय किलोमिटर लामो यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माण भइरहेको छ। धरानदेखि हेटौँडासम्मको तीन सय किलोमिटर सडक निर्माण भइसकेको र पूर्वी खण्डमा धमाधम काम भइरहेको आयोजना कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित