ललितपुर ।
ललितपुर महानगरपालिका–२१ खोकना नेवार समुदायको ऐतिहासिक बस्तीका रूपमा चिनिन्छ। यो क्षेत्र शुद्ध तोरीको तेल उत्पादन र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रूपमा प्रसिद्ध छ। रुद्रायणी मन्दिर जस्ता ऐतिहासिक सम्पदाका कारण खोकना विशेष महत्वको क्षेत्र बनेको छ।
खोकनाका स्थानीय कृष्णभक्त महर्जनका अनुसार यहाँका परम्परागत मौलिक घरहरू अब जम्मा १,०४० मात्र बाँकी छन्। उनले मौलिकता बचाउन र भविष्यका लागि यो सम्पदा सुरक्षित राख्नुपर्ने बताएका छन्। खोकनाका सबै स्थानीयले नेवा परम्परा र संस्कृति बचाउन प्रयास गरिरहेको उनले बताए।
रुद्रायणी मन्दिरका बाजाको संरक्षण समितिका अध्यक्ष हरिराम डङ्गोलले चार पुस्तादेखि बाजा संरक्षण गर्दै आएको बताए। नेवारी संस्कृतिमा प्रयोग हुने बाजाहरूको संरक्षणका लागि स्थानीय वडासँग सहकार्य आवश्यक भएको उनको भनाइ छ।
भूकम्प र बाढीका कारण खोकनाका केही पुराना घरहरू जीर्ण भएका छन्। ७८ वर्षीय मदनकृष्ण डङ्गोलले आफ्नो घरलाई खोकना सङ्ग्रहालयको रूपमा स्थापना गरेका थिए, जुन नेपालमा पहिलोपटक बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ। यो घर अहिले जीर्णोद्धारको प्रतीक्षामा छ।
ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार स्थानीयको सहमतिमा ऐतिहासिक संरचनाहरूको पुनःनिर्माण भइरहेको छ। चारवटा ऐतिहासिक मिलको पुनःनिर्माण सम्पन्न भएको र बाँकी दुई मिलको काम छिट्टै पूरा हुने वडाध्यक्ष महर्जनले बताए।