काठमाडौं।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। बुटवलको सुप्रिम सहकारी अपचलनसम्बन्धी मुद्दामा बयान दिन उनी अदालतमा हाजिर हुन लागेका हुन्।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए। उनी अपराह्न काठमाडौं विमानस्थलबाट केही वकिल र नेता-कार्यकर्तासहित भैरहवा अवतरण गरेका थिए।
यसअघि, लामिछाने कास्की पोखराको सूर्यदर्शन सहकारी अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि उनी काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए, जहाँ उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए। धरौटीमा रिहा भएपछि, रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि, उनले २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए। सुप्रिम सहकारीको मुद्दा उनी गृहमन्त्री रहँदा, ३ वैशाखमा अदालतमा दर्ता भएको थियो। यसमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको थियो।
अनुसन्धानमा, सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको थियो। यो रकममध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको थियो। गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो। प्रारम्भिक शेयरधारकहरूमा गितेन्द्रबाबु राई र छविलाल जोशी थिए। पछि, ७ पुस २०७८ मा लामिछानेले प्रबन्ध निर्देशकका रूपमा १ लाख ८० हजार कित्ता शेयरसहित जिम्मेवारी लिएका थिए।
सुप्रिम सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी भएको पुष्टि भएको छ। दुई करोड रुपैयाँ ऋण १८ चैत २०७७ मा स्वीकृत भई, चार लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको थियो।