कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा रु १७ करोड १ लाख २ हजार ७२ राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले विभिन्न शीर्षकमा यो राजस्व सङ्कलन गरेको हो। यस अवधिमा, सम्पत्ति कर, भूमिकर/मालपोत, बहालकर, व्यवसाय कर, नक्सापास दस्तुर लगायतका विभिन्न स्रोतबाट राजस्व सङ्कलन भएको जानकारी राजस्व शाखा प्रमुख लेखनाथ ओझाले दिएका छन्।
सम्पत्ति करबाट रु १ करोड ९२ लाख ६७ हजार, भूमिकर/मालपोतबाट रु १ करोड २३ लाख ६८ हजार, बहालकरबाट रु ३ करोड ५२ लाख ८३ हजार, व्यवसाय करबाट रु २ करोड ७९ लाख ७९ हजार, नक्सापास दस्तुरबाट रु १ करोड ६५ लाख ४८ हजार र अन्य राजस्वबाट रु ३ करोड ५२ लाख १२ हजार सङ्कलन भएको ओझाले बताए।
अर्को राजस्व स्रोतमा सिफारिस दस्तुरबाट रु ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३८ लाख ६१ हजार, बेरुजूबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १३ लाख १३ हजार सङ्कलन भएको छ।
ओझाका अनुसार, चालू आर्थिक वर्षको सोही अवधिमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा रु १६ करोड ५ लाख ९४ हजार सङ्कलन भएको थियो भने यस वर्ष रु ९५ लाख ७ हजार ८ सय ७९ ले बढी राजस्व सङ्कलन भएको छ।
राजस्व सङ्कलनमा कडाइ गर्नुका साथै करका दायरा फराकिलो गर्दै जानु र प्रशासनिक कार्यशैलीमा सुधार ल्याउनुका कारण राजस्व सङ्कलनमा यो वृद्धि भएको ओझाले बताए। यसले उपमहानगरपालिकाको वित्तीय व्यवस्थापनमा सुधार र स्थानीय स्तरमा आम्दानीको स्रोतका रुपमा नयाँ मार्ग प्रशस्त गरेको छ।