महोत्तरी,
तीन वर्षअघिसम्म बलौटे र बाझो भूभागका रूपमा रहेको सनीखोलाको उकासिएको बगर अहिले भूमिहीन किसानको अथक परिश्रमले हराभरा भएको छ। महोत्तरीको गौशाला–८, कुष्माढीस्थित सनीखोला किनारको एक सय एक बिघा नदीउकास जग्गा अहिले ‘सुन फल्ने’ जमिनमा परिणत भएको छ।
पहिले दुबो पनि नमौलाउने यो क्षेत्र अहिले थरिथरिका फलफूल र तरकारीले हराभरा भएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP), सेभ द चिल्ड्रेन, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, र गौशाला नगरपालिकाको संयुक्त सहयोगले किसानलाई प्रोत्साहन गरिरहेको छ।
२०७८ सालको अन्त्यमा गौशाला नगरपालिकाले भूमिहीन किसानलाई परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याएपछि यो क्षेत्रमा खेती सुरु भएको हो।
युएनडिपीको सहयोगमा आँप, लिची, कागतीजस्ता फलफूलका ११ हजारभन्दा बढी बोट लगाइएका छन्। फलफूलबाहेक आलु, गहुँ, र अन्य तरकारीले बगरलाई हराभरा बनाएका छन्।
कुष्माढीका दुई सय एक भूमिहीन किसानले यो बगरखेतीलाई आफ्नो जीवनको मुख्य आधार बनाएका छन्। जैविक खेती गर्दा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा परेको छ। किसान चन्द्रकला महराका अनुसार आलु लिने उपभोक्ता खेतमै आइपुग्छन्। ‘बगरखेती थालिएपछि अब गुजाराकै चिन्ता गर्नुपरेको छैन,’ उनले भनिन्।
बगरखेतीमा मुसहर, चमार, कोइरी, यादव, र मगर समुदायका किसान संलग्न छन्। पहिलेदेखि मजदुरी गरेर गुजारा चलाउँदै आएका मुसहर जातिका मानिसहरू अहिले किसानको पहिचानमा उभिएका छन्। मुसहर समुदायकी कविता सदाले भनिन्, “नदीउकास बगर पाएको पहिलो वर्ष त ढुङ्गा र बलौटे माटो सफा गर्दै बित्यो। दोस्रो वर्षदेखि फसल लिन सक्यौँ। अब यो बगरकै खेतीले परिवार पाल्न पुग्छ।”
गौशाला नगरपालिकाले बगर क्षेत्रको चार किलोमिटर क्षेत्रमा विद्युतीकरण, दुई वटा डिपबोरिङ, र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरिदिएको छ। साथै, समुन्नति कार्यक्रमले किसानलाई गड्यौला मल उत्पादन गर्ने तालिम दिएको छ। सामुदायिक विकास तथा पैरवी मञ्चले प्राविधिक सहयोग र बीउबिजन उपलब्ध गराउँदै आएको छ।
बगर खेतीको यो सफलताले मुसहर जातिलाई ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानलाई तोडेर सशक्त किसान बनाएको छ। अब उनीहरू नगद र अन्न दुवै सञ्चय गर्न सक्षम भएका छन्।
गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतोले गरिब किसानको मेहनतले बगरखेतीलाई हराभरा बनाएको देख्दा निकै सन्तोष मिलेको बताएका छन्। “नगरपालिकाले गरेको सहयोग खेर नगएकाले यो कामले हामीलाई थप हौसला दिएको छ,” डा. महतोले भने।
सनीखोलाको बगर खेतीको सफलता अवलोकन गर्न टाढा–टाढाबाट किसानसमूह आउने गरेका छन्। किसानहरूका अनुसार यो खेतीले उनीहरूलाई प्रेरणा दिएको छ। सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि किसानलाई निरन्तर साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
तीन वर्षअघि बलौटे र बाझो भूभागका रूपमा रहेको सनीखोलाको बगर अहिले मेहनतले हराभरा र उर्वर जमिनमा रूपान्तरण भएको छ। किसानहरूका लागि यो बगरखेती आर्थिक, सामाजिक, र सांस्कृतिक परिवर्तनको माध्यम बनेको छ।