हुम्ला ।
सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढलको व्यवस्थापन दुई दिनपछि गरिएको छ। बजार क्षेत्रको ढल विमानस्थलमा प्रवेश गर्दा समस्या उत्पन्न भएको समाचार प्रकाशित भएपछि, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अध्यक्षतामा सरोकारवाला निकायहरूबीच बैठक भएको थियो।
बैठकको निर्णयअनुसार बिहीबार बिहान बजार क्षेत्र र सिमकोट विमानस्थलका नालाहरूको फोहोर व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन्। यस कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सिमकोट गाउँपालिका, स्थानीय राजनीतिक दल, उद्योग वाणिज्य संघ, र होटल व्यवसायीहरूले सहयोग गरेका थिए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, “सिमकोट बजारलाई सुन्दर र शान्त बनाउनु हामी सबै नागरिकहरूको दायित्व हो।” उनले बजार क्षेत्रमा फोहोर फाल्ने जो कोहीलाई कारबाही गरिने चेतावनी पनि दिए।
विमानस्थलको सरसफाइ पश्चात, सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले यसले विमानस्थल सञ्चालनमा सहजता ल्याएको जानकारी दिएका छन्। बजार क्षेत्रका होटल र पसलबाट खाद्य वस्तु र प्लास्टिकजन्य वस्तु नालामा फालिनुले समस्या सिर्जना गरिरहेको थियो।
ढल विमानस्थलसम्म पुगेको थियो ।