टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालन
टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालन
    • बेल संचार

    • ११ माघ २०८१, शुक्रबार

फुङ्लिङ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलेको छ। तमोर करिडोरको मर्मतपछि कच्ची सडकमार्ग हुँदै टिप्तालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा सञ्चालन हुन थालेका छन्।

टिप्ताला क्षेत्रको सहज पहुँचले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार, सडक मर्मतपश्चात धेरै यात्रु टिप्ताला क्षेत्र भ्रमण गर्न सवारीसाधनमार्फत आउन थालेका छन्। पहिलेजस्तो कठिन यात्राका रूपमा परिचित यो खण्डमा अहिले सहज सवारी पहुँचले आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने, र नदी–खोल्साका भाग मर्मत गरेपछि सवारी सञ्चालन सम्भव भएको हो। अब फुङ्लिङबाट टिप्ताला पुगेर फर्किने यात्रा तीन दिनमै सम्पन्न गर्न सकिन्छ। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायी टोलीले यो खण्डमा तीन दिनभित्रै ओहोरदोहोर गरी यसको सम्भावना प्रस्ट पारेको छ।

ओलाङचुङ्गोलासम्म नियमित सवारीसाधन सञ्चालनले स्थानीय व्यवसाय र ढुवानीलाई सहज बनाएको छ। कार्यपालिका सदस्य तथा स्थानीय बासिन्दा फुपुल्हमु श्रेष्ठका अनुसार, पहिले आवश्यक सामग्री ढुवानीका लागि ठूलो खर्च लाग्दथ्यो, तर अहिले गाडी गाउँसम्म पुग्दा समय र लागत दुवै घटेको छ।

वडाध्यक्ष शेर्पाका अनुसार, अहिले सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण भएमा बर्खाको मौसममा पनि आवागमन सहज हुनेछ। यसै क्रममा, फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्।

जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल बनेमा टिप्ताला क्षेत्र व्यापारिक तथा पर्यटन केन्द्रका रूपमा विकसित हुन सक्छ। तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीचको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्ने सङ्केत गरेको छ।

टिप्तालासम्म सवारीसाधन सञ्चालन र पूर्वाधार विकासले यस क्षेत्रको आर्थिक र पर्यटन गतिविधिमा नयाँ ऊर्जा थपेको छ, जसले स्थानीय बासिन्दा र व्यवसायी दुवैलाई फाइदा पुर्‍याउनेछ।

साताकाे चर्चित
सम्बन्धित