काठमाडाैं ।
सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार आयोजित कार्यक्रममा उनले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताए ।
“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उनले भने, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताए । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उनले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताए ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उनले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गरे ।