काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्। स्वास्थ्य समस्याका कारण पाल्पा जान नसकेपछि उनले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधन गर्दै उद्घाटन गरेका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाल्पाको ऊर्बर भूमि बगनासकालीको महत्वलाई औंल्याउँदै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्ने इच्छा भए पनि रुघाखोकीका कारण त्यसमा असमर्थ रहेको बताए। उनले नव निर्मित प्रशासकीय भवनबाट स्थानीय जनताले प्रभावकारी सेवा प्राप्त गर्ने र नयाँ अनुभव गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले पाल्पालाई ऐतिहासिक, रमणीय र देशको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला भन्दै यस क्षेत्रको छवि कायम राख्न यहाँका जनतालाई आग्रह गरे। उनले आफूहरूको कार्यकालमै सिद्धबाबा सुरुङलगायतका विकास निर्माणका परियोजनाहरू पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले पाल्पा खनिज तत्वको प्रयोगमा अगाडि रहेको र कृषिमा उद्यमशीलता विकास गर्दै समग्र प्रगतिमा थप अग्रसर हुने अपेक्षा व्यक्त गरे।
यस उद्घाटनले बगनासकाली गाउँपालिकाको सेवा प्रवाहमा सुधार ल्याउने र स्थानीय विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।