हुम्ला ।
नेपाल र चीनका सुरक्षाकर्मीले संयुक्त रूपमा हुम्लाको उत्तरी सीमा क्षेत्रमा अनुगमन गरेका छन्। उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाका शनिबार निरीक्षण गरिएको हो।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाका अनुसार, दुई देशका सुरक्षाकर्मीको सहमतिअनुसार किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुगमन गरिएको हो। चिसो मौसमका कारण हिल्सादेखि किटसम्मको क्षेत्र अत्यधिक कठोर रहेको जनाइएको छ।
सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईका अनुसार, सीमानाकामा कुनै अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न, र सुरक्षाकर्मीबीच समन्वय बढाउन यो अनुगमन गरिएको हो।
त्यस्तै, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले नियमित रूपमा गस्ती गर्दै आएका छन्। अनुगमन टोलीमा चीनका सुरक्षाकर्मी तथा नेपालतर्फबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता थियो।
वि.सं. २०७७ मा उत्तरी सीमा हिल्सानाकामा सशस्त्र प्रहरी बलको स्थापनापछि यो क्षेत्रको सीमा सुरक्षामा निरन्तर रूपमा सुरक्षाकर्मी परिचालन हुँदै आएको छ। हिउँदमा उत्तरी नाम्खामा हिमपातका कारण यारी र हिल्साबीचको आवतजावत बन्द भए पनि सीमा सुरक्षामा खटिने काम वर्षभरि नै निरन्तर रहने सशस्त्र प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।