हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाट थालिएको पहल प्रभावकारी
हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाट थालिएको पहल प्रभावकारी
    • बेल संचार

    • १३ माघ २०८१, आईतवार

ताप्लेजुङ ।

हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाट सुरु गरिएको अभियान प्रभावकारी बन्दै गएको छ। ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा विसं २०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ। हाल ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट विद्यार्थीहरूलाई अध्ययन गराइँदैछ।

फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकाको साँवा र बालदेन माध्यमिक विद्यालय तथा सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलगायत जिल्लाका ६ विद्यालयमा कक्षा ६ देखि ८ सम्मका ३७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गरिरहेका छन्।

हिमाली संरक्षण मञ्चको सहजीकरणमा नेचर टूर, रेडियो कार्यक्रम, चिया–कफी छलफल, र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता क्रियाकलाप मार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक गराउने प्रयास भइरहेका छन्। साथै, प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिन्छ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार, विद्यालयस्तरबाटै संरक्षण शिक्षाको थालनी जैविक विविधता जोगाउन महत्वपूर्ण कदम हो। यसले बालबालिकामा प्रकृति र वन्यजन्तुप्रतिको सद्भाव विकास गर्न मद्दत पुर्याएको छ। हिमाली संरक्षण मञ्चका सचिव विवस केदेमले समुदायसँग प्रत्यक्ष छलफल र गतिविधिहरूको माध्यमबाट संरक्षण अभियान प्रभावकारी बनाइएको जानकारी दिए।

विद्यालयस्तरबाटै संरक्षणको भावना विकास गर्दा भविष्यमा संरक्षणका चुनौतीहरू सामना गर्न सहज हुने र हिमाली क्षेत्रमा जैविक विविधताको सन्तुलन कायम गर्न महत्त्वपूर्ण टेवा पुग्ने सरोकारवालाहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित