हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतबारीमा थुपारेको बालुवा, गिट्टी र ढुङ्गा हटाउने कार्य सुरु गरेको छ। बाढीले खण्डहर बनाएका खेतबारीलाई पुनः खेतीयोग्य बनाउन नगरपालिकाले जेसिबी, डिजेल, र अफ्रेटरको व्यवस्था गरेको हो।
सुनकोशी आसपासका वडा नं २ डिकुवा, वडा नं ८ धितुङ, र वडा नं ११ राजापानीका करिब १५० किसानका २५० रोपनीभन्दा बढी जमिन बाढीले पुरेको थियो। विशेष रूपमा भाँडबेँसी क्षेत्रमा करिब ६० घर किसानका १५० रोपनी खेतबारी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। नगरपालिकाले पूर्ण क्षति भएका ३१ घरलाई राहतस्वरूप रु ७,००० प्रदान गरिसकेको छ।
नगरप्रमुख विमला राईका अनुसार, बाढीले व्यापक क्षति गरेकाले किसानलाई खेती पुनः सुरु गर्न सहयोग गर्न नगरपालिकाले गेगर हटाउने काम थालेको हो। पहिलो चरणमा भाँडबेँसीबाट सुरु गरिएको यो अभियान क्रमशः रेग्मीटार र अन्य प्रभावित स्थानमा विस्तार गरिनेछ। नगरपालिकाले थप क्षतिग्रस्त क्षेत्रका लागि बाँध निर्माणको सिफारिस माथिल्लो तहमा गरेको बताइएको छ।
चाडपर्वको समयमा विस्थापित भएका किसानहरूले अस्थायी रूपमा आफन्त, छिमेकी, विद्यालय वा सार्वजनिक स्थलमा बसेर दसैँ मनाएका थिए। नगरपालिकाले उनीहरूलाई राहतस्वरूप खानाका लागि आवश्यक सामग्री र बस्नका लागि कम्बल उपलब्ध गराएको छ।