ढोरपाटन ।
बागलुङ नगरपालिका-१४ बलेवाका ५२ किसानले समूह बनाएर व्यावसायिक कागतीखेती सुरु गरेका छन्। ‘चासो कृषक समूह’ले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गर्दै साढे दुई सय रोपनी भाडामा लिएर विसं २०७७ देखि कागतीखेती थालेको हो। अहिले कागतीखेतीबाट गाउँको कृषि क्षेत्रले नयाँ उचाइ लिइरहेको छ।कागतीखेतीका लागि समूहले झन्डै एक करोड ३० लाख लगानी गरेको छ भने कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख अनुदान प्रदान गरेको छ। समूहका अध्यक्ष केशव सुवेदीका अनुसार, हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्।
कागतीखेतीले बाँदर आतङ्क केही कम गरेको र जमिनको सदुपयोगसँगै आयआर्जन पनि बढाएको छ।गत वर्षदेखि उत्पादन सुरु भएको कागतीको यस वर्ष बागलुङ र कुश्मालगायतका बजारमा करिब पाँच लाख रुपैयाँ बराबरको बिक्री भएको छ। उत्पादन बर्सेनि बढ्ने अपेक्षासहित किसानहरू उत्साहित छन्।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषक समूहलाई चक्लाबन्दीका लागि १० लाख, कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख, र प्राविधिक सहयोगका रूपमा विषादी तथा अन्य सामग्री उपलब्ध गराएको छ।
परियोजनाका प्रमुख नारायण पौडेलका अनुसार, यो परियोजना अन्य किसानका लागि अध्ययन केन्द्र बन्न सक्छ।
कागतीखेतीले बसाइँसराइको कारण रित्तिएको गाउँमा नयाँ सम्भावना देखाएको छ। बाँझो जमिनको सदुपयोग र कृषि आयआर्जनले गाउँलाई पुनः व्यस्त बनाउन भूमिका खेलेको छ।