सिँजामा जंगलमा लागेको आगो निभाउने क्रममा रावलको मृत्यु
सिँजामा जंगलमा लागेको आगो निभाउने क्रममा रावलको मृत्यु
    • उमेश बुढा

    • १४ माघ २०८१, सोमबार

जुम्ला
सिंजा गाउँपालिका-१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा लागेको जंगलको आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको दुखद निधन भएको छ। आगो दिउँसो करिब दुई बजे स्याउ बगैंचाबाट सुरु भई जंगलमा फैलिएको थियो।

इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो कसरी लागेको हो भन्नेबारे अहिलेसम्म एकीन जानकारी प्राप्त भइसकेको छैन। आगो निभाउनका लागि पूर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावलसहित स्थानीय बासिन्दाले प्रयास गरे पनि आगो नियन्त्रणमा लिन कठिनाइ भएको जनाइएको छ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी जुम्लाबाट टोली पठाइएको जानकारी दिए। साथै, उनले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गरेका छन्।

यो घटनाले स्थानीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। आगलागीबाट जंगल तथा स्याउ बगैंचामा व्यापक क्षति भएको अनुमान गरिएको छ। स्थानीयले आगो निभाउन ज्यानको प्रवाह नगरी प्रयास गरेका थिए, तर ८० वर्षीय रावलको मृत्युले गाउँमा शोकको छाया छाएको छ।

अहिले पनि आगो नियन्त्रणको प्रयास जारी रहेको र थप विवरणको प्रतिक्षा भइरहेको जानकारी प्राप्त भएको छ।

साताकाे चर्चित
सम्बन्धित