उपराष्ट्रपति यादव र म्यानमारका राजदूतबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति यादव र म्यानमारका राजदूतबीच शिष्टाचार भेटवार्ता
    • बेल संचार

    • १४ माघ २०८१, सोमबार

काठमाडौँ ।

नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल-म्यानमारबीचको द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय सहकार्य, आर्थिक, सामाजिक, तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।

भेटको क्रममा उपराष्ट्रपति यादवले सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र म्यानमारबीचको सम्बन्ध अझै प्रगाढ हुँदै आएको उल्लेख गरे। उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवका अनुसार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे दुवै पक्ष सकारात्मक देखिएका थिए।

उपराष्ट्रपति यादवले अतिकम विकसित राष्ट्र (LDCs) का साझा मुद्दाहरूमा नेपाल र म्यानमारले आर्थिक हितका लागि सहकार्य गर्दै आएको स्मरण गरे। साथै, उनले व्यापार, लगानी, पर्यटन, तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा भएका समझदारी कार्यान्वयनमार्फत दुई देशबीचको आर्थिक सम्बन्ध अझै प्रगाढ र व्यापक हुने विश्वास व्यक्त गरे।

यस अवसरमा दुई देशबीचको परम्परागत मित्रता, सांस्कृतिक नाता, र आपसी सहकार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो। भेटले नेपाल र म्यानमारबीच भविष्यमा आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास दिलाएको छ।

साताकाे चर्चित
सम्बन्धित