संसद अधिवेशन तयारी : सत्ता साझेदार दलहरूको बालुवाटार बैठकमा छलफल
संसद अधिवेशन तयारी : सत्ता साझेदार दलहरूको बालुवाटार बैठकमा छलफल
    • बेल संचार

    • १४ माघ २०८१, सोमबार

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सत्ता साझेदार दलहरूको बैठक सम्पन्न भएको छ। यस पटकको बैठकमा विशेष दृश्य देखियो, जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीसँग एउटै लहरमा राखिएको थियो।

यसअघि बालुवाटारमा हुने बैठकहरूमा प्रधानमन्त्री ओली मात्र अगाडि बस्ने र देउवासहित अन्य शीर्ष नेताहरू दोस्रो लहरको कुर्सीमा बस्ने व्यवस्था हुन्थ्यो। तर, आजको बैठकमा प्रधानमन्त्री ओलीले देउवाको कुर्सी आफू बसेकै लहरमा राख्ने व्यवस्था मिलाए।

आज बिहान सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग हालको सरकार सञ्चालनमा पूरा सहयोग पाएको बताएका थिए। उनले भने, “अहिले मैले नेपाली कांग्रेसबाट कुनै रिजर्भेसन बिना पूरा सहयोग पाएको छु। भोलि कांग्रेसले पनि हामीबाट पूरा सहयोग पाउनेछ।” प्रधानमन्त्रीले १७-१८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र आफूले कांग्रेसलाई पूर्ण सहयोग गर्ने पनि बताए।

ओलीको यो अभिव्यक्तिपछि केही घण्टाभित्र बसेको बैठकमा देउवाप्रति देखाएको सम्मानलाई राजनीतिक सहकार्यको संकेतका रूपमा हेरिएको छ। बैठकमा आगामी १८ माघदेखि सुरु हुने संसद अधिवेशनको कार्यसूचीबारे छलफल भएको नेताहरूले जानकारी दिएका छन्।

बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत, र जसपा नेपालका नेता राजकिशोर यादवलगायत शीर्ष नेताहरू सहभागी थिए।

यस बैठकले सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित