काठमाडौँ ।
जोगवनी नाकादेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गत खाँदबारीदेखि किमाथाङ्कासम्मको १५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै आज औपचारिक रूपमा ‘ब्रेक थ्रु’ गरिएको छ।
संखुवासभाको भोटखोला गाउँपालिका–१ च्याम्ताङ क्षेत्रमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ घोषणा गरिएको हो।
सडक खण्डको च्याम्ताङदेखि घोङघोप्पासम्मको १०.५ किलोमिटर चट्टानी भीर फुटाउन नेपाली सेनाले महत्वपूर्ण भूमिका खेलेको छ। समयभन्दा अगाडि नै ट्र्याक खोल्ने काम सम्पन्न गरेकोमा रक्षामन्त्री राईले सेनालाई धन्यवाद दिएका छन्।
कार्यक्रममा मन्त्री खड्काले यो सडकले नेपाल, भारत, र चीनबीचको पारवहनलाई सहज बनाउँदै त्रिदेशीय व्यापारिक सम्बन्धलाई मजबुत बनाउने बताए। यसले बङ्गलादेशले पनि फाइदा लिन सक्ने र क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्याउने उल्लेख गरे।
भौतिक पूर्वाधारमन्त्री दाहालले बाँकी काम चाँडो सम्पन्न गर्न बजेट अभाव हुन नदिने र पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा योगदान गर्ने बताएका छन्। मन्त्री खड्काले पनि यस क्षेत्रबाट अरुण नदीको उपयोग गरी जलविद्युत् आयोजना निर्माणको ठूलो सम्भावना रहेको बताए।
यो सडकको ‘ब्रेक थ्रु’ सँगै अब स्तरोन्नति र चौडा बनाउने काम सुरू हुने जानकारी सेनाले गराएको छ। यसले नेपाललाई क्षेत्रीय पारवहन र आर्थिक विकासमा नयाँ युगतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।