गुल्मीको अर्जुन डाँडामा सेल्फी टावर निर्माण, पर्यटकको चहलपहल न्यून
गुल्मीको अर्जुन डाँडामा सेल्फी टावर निर्माण, पर्यटकको चहलपहल न्यून
    • बेल संचार

    • १५ माघ २०८१, मंगलवार

गुल्मी ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ को अर्जुन डाँडालाई पर्यटकीय क्षेत्र बनाउन सेल्फी टावर निर्माण गरिएको छ । टावर निर्माण भएपनि डाँडो सुनसान छ । अवलोकन गर्न खासै कोही पुग्दैनन् ।

सिँढीमार्फत अग्लो टाबरमा पुगेपछि तम्घास बजारको सुन्दर दृश्यसहितको सेल्फी फोटो खिच्न सकिन्छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य सेल्फीमा खिच्ने गरी टावर निर्माण गरिएको छ ।

अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा बातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजारको लागतमा सेल्फी टावर निर्माण गरिएको हो ।

टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिन्छ । सेल्फी टावरमार्फत नयाँ युवा पिँढीहरुलाई आकर्षण गरेर पर्यटकीयक्षेत्र बनाउने उद्देश्यले टावर निर्माण गरिएको हो । टावरमा एकपटकमा २० जनासम्म जान सकिने गरी निर्माण गरिएको छ ।

सेल्फी टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गरेर अर्जुन क्षेत्रलाई थप पर्यटकीय गन्तव्य बनाइएको छ । तर त्यहाँसम्म पुग्नको लागि मोटरबाटो अवस्था सजिलो नभएका कारणले त्यहाँ खासै पुग्ने गरेका छैनन् ।

अर्जुन क्षेत्रमा यसअघि पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय सहयोगमा प्रवेशशद्वार‍, पानीको फोहोरा फाल्नेसहितको पोखरी निर्माण, वनभोज जानेहरुको लागि भवन बनाउने गरी निर्माण गरिएको थियो । निर्माण भएका संरचना समेत अहिले टुटफुट हुन थालेका छन् ।

करिब २ हजार मिटर उचाइमा रहेको अर्जुन डाँडा धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताको महत्वपूर्ण मानिन्छ । वि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ सो को भग्नावशेषहरु थिए भन्ने किम्न दन्ती रहेको छ ।

उक्त डाँडामा पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यत रहेको छ । अर्जुनले यसै गिरीमा बसेर गीताको तत्व ज्ञान लिएको, शिवजीले यसै गिरीमा ध्यान गरेको भन्ने किंवदन्ती छ ।

हाल अर्जुन डाँडा मन्दिरमा सामान्य केही वनभोज खान जानेसँगै ऐतिहासिक स्थलहरु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरी संरचनाहरू निर्माण गरिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित