काठमाडौँ ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागद्वारा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलन बुधबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको छ।
नेपाली स्टार्टअप र साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो सम्मेलनमा विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति रहेको छ।
नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर, तथा बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माले सम्मेलनमा सहभागिता जनाएका थिए।
सम्मेलनमा सहभागी कूटनीतिज्ञहरूले नेपाली कांग्रेसले स्टार्टअप प्रवर्द्धनका लागि चालेको प्रयासको प्रशंसा गरेका छन्।
उनीहरूले पार्टी कार्यालय परिसरमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्दै नेपाली हस्तकलाको मौलिकता र अनुपम सौन्दर्यको प्रशंसा गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त सम्मेलनमा विभिन्न नेपाली हस्तकला सामग्री तथा घरेलु उत्पादनहरू प्रदर्शन गरिएको छ। सम्मेलन बिहीबार बेलुका समापन हुनेछ।