काठमाडौँ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनाम ल्होसार पर्वले नेपालका विभिन्न जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएको उल्लेख गरे। श्रमसंस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनाम ल्होसार विभिन्न परिकार, सांस्कृतिक कार्यक्रम र परम्परागत रीतिथितिसहित हर्षोल्लासका साथ मनाइन्छ।
अध्यक्ष दाहालले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकतालाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरेको बताए। उनले भने, “प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न तामाङ समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु। यस प्रकारका पर्वहरूले विभिन्न जाति तथा समुदायका धार्मिक र सांस्कृतिक आस्थालाई सम्मान गर्दै भाषा, कला, संस्कृति, लिपि, वेशभूषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएका छन्।”
सोनाम ल्होसार पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्ने भन्दै अध्यक्ष दाहालले तामाङ समुदायसहित सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।