बागलुङमा अलैँची उत्पादनमा वृद्धि, कृषकको आकर्षण बढ्दो
बागलुङमा अलैँची उत्पादनमा वृद्धि, कृषकको आकर्षण बढ्दो
    • बेल संचार

    • १७ माघ २०८१, बिहीबार

बागलुङ ।

बागलुङ, माघ १७ – बागलुङमा पछिल्लो समय अलैँची उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। क्षेत्र विस्तारसँगै गत वर्ष जिल्लाका किसानहरूले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार, बागलुङका किसानहरूले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु. ६ करोड आम्दानी गरेका छन्।

जैमिनी नगरपालिका–२ का कृषक बलिभद्र सापकोटाका अनुसार, अन्य जिल्लाको तुलनामा बागलुङका किसानहरूले अलैँचीको मूल्य कम पाएका छन्। हाल यहाँ प्रतिकेजी रु. १,२५० का दरले बिक्री भइरहेको छ। उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले किसानहरू अलैँची खेतीप्रति आकर्षित हुँदै गएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा बागलुङमा १२८ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो, जसबाट ४२ मेट्रिक टन उत्पादन भएको थियो। त्यस वर्ष प्रतिकेजी रु. ९५० का दरले बिक्री हुँदा किसानहरूले झन्डै रु. ३ करोड ९९ लाखको कारोबार गरेका थिए। आर्थिक वर्ष २०७९/८० मा खेती क्षेत्र १३१ हेक्टरमा विस्तार भए पनि उत्पादन ३८ मेट्रिक टनमा सीमित रह्यो। फेद कुहिने र पात–डाँठ सुक्ने रोगको संक्रमणका कारण उत्पादनमा गिरावट आएको कृषकहरूले बताएका छन्।

चालु आर्थिक वर्षमा अलैँची बिक्री भइसकेको छ भने कुल कारोबारको यकिन तथ्याङ्क सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। हाल बागलुङमा १४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको छ, जसमा ९६ हेक्टरमा रोपिएको अलैँची उत्पादन दिन थालेको छ।

बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, यो जोन स्थापनाको कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले जानकारी दिए। परियोजनाअन्तर्गत १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लक समेटिएको छ।

जिल्लाको ताराखोला, काठेखोला, बडिगाड, बरेङ, निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको छ।

सही व्यवस्थापन गरेमा एक पटक रोपिएको अलैँचीले १० वर्षसम्म उत्पादन दिने गर्दछ। किसानहरूले उत्पादन भएको अलैँची गुणस्तरअनुसार विभाजन गरी फरक-फरक मूल्यमा बिक्री गर्ने गरेका छन्। उत्पादन बढ्दै गइरहेको भए पनि उचित मूल्य नपाएको गुनासो किसानहरूबाट आउने गरेको छ। यदि बजार व्यवस्थापन सुधार गरिएमा बागलुङका कृषकहरू अझ बढी फाइदा लिन सक्ने कृषि विज्ञहरूको सुझाव छ।

साताकाे चर्चित
सम्बन्धित