कञ्चनपुर ।
चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित सुनदेवी ताल अपूर्व प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। सूर्यको किरण तालमा पर्दा पानी पूरै पहेँलो देखिने भएकाले यस ताललाई सुनदेवी ताल नाम दिइएको हो।
शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने यो तालको वरिपरि घना वन क्षेत्र रहेको छ, जहाँ चिरबिर गर्ने विभिन्न प्रजातिका चराहरूले वातावरणलाई संगीतमय बनाउँछन्। चित्तल, बँदेल, बाँदर, दुम्सी जस्ता वन्यजन्तुहरू देख्न पाइने यो क्षेत्रमा मयुर, लाटोकोसेरो, धनेश लगायतका चरा रमाइरहेको देख्न सकिन्छ। त्यस्तै, वन क्षेत्रमा फुलेका विभिन्न प्रकारका फूलहरूले वातावरणलाई अझै आकर्षक बनाएको छ।
तालको चारैतिर घना वन भए पनि तालको सतहमा रूखका पातहरू देखिँदैनन्। हावाको प्रवाहसँगै तालको पानी नीलो र पहेँलो देखिने विशेषता रहेको छ।
सुनदेवी ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। यस क्षेत्रसम्म पुग्ने सडक निर्माण हुन सकेको छैन। आन्तरिक पर्यटक तथा भक्तजनहरू पैदल यात्रा गरी तालसम्म पुग्नुपर्ने बाध्यता रहेको छ। पूर्व–पश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरसम्म सवारीसाधन प्रयोग गर्न सकिन्छ, तर त्यसपछिको पाँच किलोमिटर दूरी पैदल हिँड्नुपर्ने हुन्छ।
सडक यातायातको अभावका कारण मात्र सीमित सङ्ख्यामा आन्तरिक पर्यटक र धार्मिकजन यहाँ पुग्ने गरेका छन्। चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइ भएको यो ताल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना बोकेको छ।
तालको किनारमा रहेको सुनदेवी भगवतीको थान धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको छ। यहाँ रहेका सन् १६७३ का पुराना ठूला घण्टीहरू यस क्षेत्रको पुरातात्त्विक महत्त्व दर्शाउँछन्।
स्थानीय जनविश्वास अनुसार सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त गर्छन्, जसका कारण नवरात्र, दसैँ, तिहार, माघे सङ्क्रान्ति जस्ता पर्वमा यहाँ पूजापाठ गर्नेहरूको भीड लाग्छ। विवाह, व्रतबन्ध, कपाल मुण्डन जस्ता धार्मिक कार्यहरूका लागि पनि भक्तजनहरू यहाँ आउने गरेका छन्।
स्थानीय समाजसेवी दुर्गादत्त भट्टका अनुसार तालसम्म पुग्ने सडक यातायातको व्यवस्था भए पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ, जसले स्थानीय युवालाई रोजगारीका अवसर समेत प्रदान गर्नेछ।
शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरका अनुसार स्थानीय तहको बजेटले सडक निर्माण सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव पेस गरिनेछ। उनले भने, ‘पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा अघि बढ्छौँ। तराई क्षेत्रमा सवारीसाधनमार्फत र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सहज पहुँच दिलाउने योजना बनाइँदैछ।’
तालबाट करिब सात किलोमिटर टाढा रहेको स्टेशनपुर क्षेत्रलाई अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेशनका रूपमा प्रयोग गरेको इतिहास रहेको छ। रेलको स्टेशन रहेको स्थानलाई अहिले स्टेशनपुर र अङ्ग्रेजहरूले झण्डा गाडेको स्थानलाई झण्डाबोझ नामले चिनिन्छ।
स्थानीय बूढापाकाका अनुसार जङ्गबहादुर राणालाई अङ्ग्रेजहरूले नयाँ मुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डीहरू हटाइएका थिए। हाल पनि जङ्गलको बीचमा रेलका लागि बनाइएको पगडण्डी र काठका संरचनाहरू देख्न सकिन्छ।
प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सुनदेवी ताल उचित व्यवस्थापन, प्रचारप्रसार र पूर्वाधार विकासको अभावका कारण ओझेलमा परेको छ। तालसम्म सहज पहुँच पुर्याउन सडक निर्माण तथा पर्यटकीय योजनाहरू कार्यान्वयन गर्न सके यस क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन गर्न सकिने देखिन्छ।