महोत्तरीका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्रको आश
महोत्तरीका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्रको आश
    • बेल संचार

    • १८ माघ २०८१, शुक्रबार

महोत्तरी ।

महोत्तरी, माघ १९ – महोत्तरीका भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने तयारीले नयाँ आशा जागेको छ।

भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्बर महतोले भूमिहीन समुदायलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिएपछि पुस्तौँदेखि जग्गा बिना बसेका नागरिकमा लालपुर्जावाला बन्ने आश पलाएको हो।

“आफ्नै भनेर पुस्तौँदेखि झुप्रोमा बसेका छौँ, तर लालपुर्जा छैन,” भङ्गाहा–४, रामनगरका दलित बस्तीका जुगल सदा मुसहर भन्छन्, “अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ।”

यसअघि पनि विभिन्न समयमा यस्ता आयोग गठन भए पनि जग्गाधनी प्रमाणपत्र पाउने आशामा रहेका भूमिहीनहरू निराश बनेका थिए।

तर, यसपटक आयोगले अघिल्लो आयोगका समयमा प्राप्त निवेदनहरूमा जाँचबुझ सुरु गरिसकेको जनाएको छ। अध्यक्ष महतोका अनुसार पहिलो चरणमा यसअघि परेका निवेदनहरूको अध्ययन भइरहेको छ।

यसअघि अध्यक्ष ज्ञानबहादुर गोलेको नेतृत्वमा आयोगले ८,२८२ अव्यवस्थित बसोबासी, २,२११ भूमिहीन सुकुमबासी र १,६७४ भूमिहीन दलित गरी जम्मा १२,२८२ निवेदन प्राप्त गरेको थियो।

तर, तीमध्ये बर्दिबास–२ बुद्धचोकका १५ भूमिहीन दलित र ३८ भूमिहीन सुकुमबासी गरी जम्मा ५३ परिवारले मात्र लालपुर्जा पाएका छन्।

२०५४ सालमा गठन भएको आयोगले आफ्ना घर भएको जमिन अन्य व्यक्तिलाई लालपुर्जा दिएर अन्याय गरेको गुनासो भङ्गाहा–४ थारुटोल बनराका सुकुमबासीहरूले गर्दै आएका छन्। उनीहरू पनि यसपटक न्याय पाउने आशामा छन्।

अध्यक्ष महतोका अनुसार पहिलेका निवेदनहरूको समीक्षा गरिसकेपछि छुटेकाहरूलाई पुनः आवेदन दिने मौका प्रदान गरिनेछ। आयोगको यो सक्रियताले महोत्तरीका भूमिहीन सुकुमबासी, दलित तथा अव्यवस्थित बसोबासीमा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने आशा जागेको छ।

साताकाे चर्चित
सम्बन्धित