सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी जडान गरिन : मन्त्री यादव
सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी जडान गरिन : मन्त्री यादव
    • बेल संचार

    • २० माघ २०८१, आईतवार

पर्सा ।

वीरगञ्ज, माघ २० – खानेपानी मन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान र वितरण गरिने घोषणा गरेका छन्।

वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले छिट्टै यो कार्यलाई अघि बढाइने बताए। “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी निःशुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ,” उनले भने, “अब सामुदायिक विद्यालयमा पानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन।”

मन्त्री यादवका अनुसार, यो कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षामन्त्रीसँग समन्वय गरिएको छ। खानेपानी मन्त्रालय र शिक्षा मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा कार्यदल गठन भइसकेको र आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए।

सोही कार्यक्रममा मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धतालाई ५७ प्रतिशतसम्म पुर्‍याउने लक्ष्यसहित काम भइरहेको समेत बताए।

साताकाे चर्चित
सम्बन्धित