जुम्ला।
हिमाका किसानहरूको सीप अभिवृद्धि तथा फलफूल बगैँचाको उचित व्यवस्थापनका लागि कृषि विकास कार्यालय जुम्लाले एकदिने स्थलगत घुम्ती तालिम सम्पन्न गरेको छ। शनिबार हिमागाउँपालिका–५, भुगोलपाटामा सम्पन्न उक्त तालिम कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो।
तालिमका क्रममा स्थानीय कृषकहरूले हिउँदे फलफूलको व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणका उपाय, माटोको उर्वरता जोगाउने तरिका, मलजल व्यवस्थापन तथा बगैँचा सुधार प्रविधिबारे व्यावहारिक ज्ञान प्राप्त गरेका छन्। किसान सुशिल वंमका अनुसार तालिमले किसानलाई व्यावसायिक फलफूल खेतीको महत्वपूर्ण पक्षहरूबारे जानकारी दिएको छ।
किसान दिपक नाथ योगीका अनुसार, तालिममार्फत सिप मात्र नभई स्याउका लागि आवश्यक काँडछाँट गर्ने औजार तथा औषधिहरू पनि प्राप्त भएको छ। उनले कृषि प्राविधिकहरूले यस्तै तालिम किसानका बगैँचामा आएर पटक–पटक सञ्चालन गरिदिए अझ प्रभावकारी हुने बताएका छन्।
एकदिने तालिमले स्याउ बगैँचाको सफल व्यवस्थापनका लागि मलजल, गोडमेल, काँडछाँट तथा औषधि उपचारको महत्वबारे सिकाएको छ। यस तालिमले किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ प्रेरित गरेको योगीले बताए।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार तालिममा हिमागाउँपालिका भित्रका २२ जना कृषकहरूको उपस्थिति रहेको थियो। उनले कृषकहरूलाई फलफूल खेतीलाई वैज्ञानिक, व्यावसायिक तथा दिगो बनाउन सुझाव दिँदै यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याए।
तालिमको समापन सत्रमा प्रमुख अधिकारीले कृषकहरूलाई आवश्यक कृषि सामग्री वितरण गर्दै उनीहरूको श्रम र लगानीलाई अझ प्रभावकारी बनाउन सघाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय कृषकहरूले तालिमबाट नयाँ ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता व्यावहारिक तालिमहरूको निरन्तरता आवश्यक रहेको बताए। हिमागाउँपालिका–५ का वडा अध्यक्ष तथा तालिमका सभाध्यक्ष कालो शाहीले जिल्ला कृषि विकास कार्यालय जुम्लाको सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरे।
तालिममा खटिएका कृषि प्राविधिक पदम रोकायाका अनुसार किसानहरूको समस्या पहिचान गरी आगामी दिनमा थप तालिम तथा सुझाव प्रदान गर्न कार्यालय निरन्तर लागिपर्ने छ। एकदिने यो तालिम हिमाका किसानहरूले स्याउ खेतीमा महत्वपूर्ण उपलब्धि ठानेका छन्। हाल कृषि विकास कार्यालय जुम्लाले जिल्लाका विभिन्न पालिकाहरूमा स्थलगत तालिम सञ्चालन गरिरहेको छ।