काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै प्रकाश र ज्ञानकी प्रतीक देवी सरस्वतीप्रति श्रद्धा व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले वसन्तपञ्चमीलाई श्रीपञ्चमी भनेर पनि चिनिने उल्लेख गर्दै बालबालिकाले अक्षरारम्भ गर्ने विशेष दिनका रूपमा यस पर्वको महत्त्व रहेको बताउनुभएको छ।
उहाँले भन्नुभएको छ, “बोटबिरुवामा नयाँ पालुवा पलाउन थाल्ने, चराहरू वसन्ती भाकामा गाउन थाल्ने, र यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुने समय हो वसन्तपञ्चमी।”
प्रधानमन्त्री ओलीले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिएको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिने धारणा व्यक्त गर्नुभएको छ।
यस अवसरमा प्रधानमन्त्री ओलीले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हट्दै, समाजमा ज्ञान, विवेक र सद्भावको प्रकाश फैलिने शुभेच्छा व्यक्त गर्नुभएको छ।