नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र, एकतर्फी कालोपत्र पूरा हुने चरणमा
नारायणगढ–बुटवल सडक विस्तारको काम तीव्र, एकतर्फी कालोपत्र पूरा हुने चरणमा
    • बेल संचार

    • २१ माघ २०८१, सोमबार

नवलपरासी ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ। पूर्वीखण्डमा पर्ने विभिन्न १८ स्थानमा कालोपत्रको काम भइरहेको नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिनुभएको छ।

फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबाससम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ,” खनालले बताउनुभयो। पुल र कल्भर्ट रहेका स्थानहरू बाहेक सडकका अधिकांश भागमा कालोपत्रको काम जारी छ। हालसम्म गैँडाकोटदेखि दाउन्नेसम्म ४० किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ भने दुई लेनतर्फ गन्दा करिब ६४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। अब २२ किलोमिटर सडक कालोपत्र गरेपछि नारायणघाट–दाउन्ने खण्डको एकतर्फी कालोपत्र कार्य पूरा हुनेछ।

खनालका अनुसार दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्न लक्ष्य राखिएको भए पनि उक्त क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले केही समय लाग्नेछ। दाउन्ने क्षेत्रमा साँघुरो सडक भएकाले सवारी आवागमनलाई एकतर्फी बनाइ कालोपत्रको काम अघि बढाइँदैछ।

सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा ५५० जना श्रमिक खटिएका छन्। हालसम्म सडकको ५३.३% भौतिक प्रगति भएको छ, भने जनवरी महिनामा मात्र पाँच किलोमिटर कालोपत्र गरिएको र थप १२ किलोमिटरको तयारी भइरहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो।

गैँडाकोट नारायणी पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार लगायतका क्षेत्रमा कालोपत्रको काम तीव्र रूपमा भइरहेको छ। साथै, दुम्कीबासको जंगल क्षेत्रमा करिब आठ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

यस सडक विस्तारका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड कम्पनीलाई ठेक्का दिइएको थियो। २०७५ माघ २२ मा नेपाल सरकार र निर्माण कम्पनीबीच २०७९ साउन २२ भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो।

२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि औपचारिक रूपमा निर्माण कार्य सुरु भएको थियो। तर, निर्धारित समयसम्म एक चौथाइ मात्र काम सम्पन्न भएकाले सरकार बाध्य भएर पहिलो पटक २०८० साउन ८, दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गर्नुपर्‍यो। कोभिड महामारी, निर्माण सामग्री अभाव लगायत कारण देखाउँदै निर्माण कम्पनीले तीन पटकसम्म म्याद थप गराएको थियो।

निरन्तरको ढिलाइका कारण सरकारले निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिँदै पत्राचार गरेपछि मात्र डिसेम्बर २०२४ बाट पुनः निर्माण कार्य तीव्र रूपमा अघि बढेको हो।

नारायणगढ–बुटवल खण्डमा दुई–दुई लेनको बीचमा तीन मिटर चौडा ‘ग्रीनरी’ राख्ने योजना छ, जसमा बिरुवा रोपिनेछ। विस्तारपछि सडकको चौडाइ दुवैतर्फ ७/७ मिटर हुनेछ, भने बजार क्षेत्रका लागि ६/६ मिटरको सर्भिस लेन निर्माण गरिनेछ।

बजार क्षेत्रमा सार्वजनिक यातायातका लागि १७.६ किलोमिटर सर्भिस लेन बनाइनेछ। ४२.७ किलोमिटर सडक चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किलोमिटर भाग तीन लेनको रहनेछ।

सरकारले आगामी साउन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप गरेको छ। अबको कार्य प्रगतिको आधारमा समयमै सडक निर्माण सम्पन्न हुने वा थप ढिलाइ हुने भन्ने स्पष्ट हुनेछ।

साताकाे चर्चित
सम्बन्धित