गाउँको विकासका लागि कृषिमा आधुनिकीकरण आवश्यक : मन्त्री पृथ्वीसुब्बा गुरूङ
गाउँको विकासका लागि कृषिमा आधुनिकीकरण आवश्यक : मन्त्री पृथ्वीसुब्बा गुरूङ
    • बेल संचार

    • २१ माघ २०८१, सोमबार

लमजुङ ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासका लागि कृषिमा आधुनिकीकरण अनिवार्य रहेको बताएका छन्। लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौर भूमिगत सिँचाइ अन्तर्गत बोरिङ उद्घाटन गर्दै मन्त्री गुरूङले स्थानीय कृषकलाई उत्पादन वृद्धिमा जोड दिन आग्रह गरे।

मन्त्री गुरूङले पूर्वाधार निर्माण सरकारको दायित्व भए पनि विकासका गतिविधि जनताले अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। उनले चालु आर्थिक वर्षमै लमजुङका सबै घरमा टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले बोरिङ सिँचाइको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिँदै वर्तमान सरकारले जनताको हितमा धेरै काम गरिरहेको उल्लेख गरे। उनले बिग्रिएको मुलुकलाई सुधार्न दुई ठूला दल गठबन्धनमा आएको कारण सरकार ढल्छ कि भन्ने चिन्ता नगर्न समेत आग्रह गरे।

उनले विगतका सरकारहरूले राजनीतिक अस्थिरता सिर्जना गरेर राजस्व उठ्न र खर्च हुन नसकेको आरोप लगाउँदै अहिलेको सरकारले सुधारका लागि प्रयास गरिरहेको बताए।

वडा नं. ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावका कारण खेतबारी बाँझै रहने समस्या समाधान हुने विश्वास व्यक्त गरे।

स्थानीय उपभोक्ता पञ्चकली गुरूङले सिमलचौरका किसानलाई बोरिङ सिँचाइ सहयोगी सिद्ध हुने बताइन्। बोरिङ सञ्चालन भएपछि एक सय ५० भन्दा बढी घरधुरीले खेतीका लागि सिँचाइ सुविधा पाउने छन्।

सरकारले कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकता दिएमा स्थानीयस्तरको उत्पादन वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित