काठमाडौं,
हेमन्त ऋतुको समापनसँगै शिशिर ऋतुको आगमनको अवसर पारेर काठमाडौंको नागार्जुन नगरपालिका-१०, स्युचटारस्थित रेम्बो वन्डरवर्ल्ड प्रि-स्कूलले श्रीपञ्चमी तथा सरस्वती पूजा भव्य रूपमा सम्पन्न गरेको छ। विद्याकी देवी सरस्वतीको आराधना गर्दै विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
विद्यालय परिसरमै स्थापित सरस्वती मन्दिरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयका पदाधिकारीहरू भेला भई विधिपूर्वक पूजा-आराधना गरेका थिए। पूजाका क्रममा विद्यालयका संस्थापक सन्देश केसी, प्रिन्सिपल दीपा अधिकारी (केसी) सहित सम्पूर्ण शिक्षक-शिक्षिकाहरू बालबालिकासँगै बसेर धार्मिक अनुष्ठानमा सहभागी भएका थिए।
सरस्वती पूजाको अवसर पारेर पीजी (प्ले ग्रुप) देखि यूकेजी (अपर किन्दरगार्टन) सम्मका बालबालिकालाई निःशुल्क भर्नाको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ। यस अवसरमा अभिभावकहरूले आफ्ना नानीहरूलाई अक्षरारम्भ गराउँदै विद्यालयको पहिलो पाइला चालेका छन्।
रेम्बो वन्डरवर्ल्ड प्रि-स्कूलले नेपालमा नयाँ लागू भएको ‘मोन्टेसरी प्रणाली’ अवलम्बन गर्दै बालमैत्री शिक्षण विधि अपनाइरहेको छ। विद्यालयका अनुसार सरस्वती पूजाको दिनलाई विशेष मानिँदै पूजापाठ, सांस्कृतिक कार्यक्रम र विभिन्न सिर्जनात्मक गतिविधिहरू आयोजना गरिएको थियो।
धार्मिक मान्यताअनुसार आजको दिन सरस्वती पूजाआराधना गरेमा विद्या, कला, संगीत, विज्ञान तथा विचारमा प्रगति हुने विश्वास रहिआएको छ। ‘ब्रह्मवैवर्त पुराण’का अनुसार भगवान श्रीकृष्णले देवी सरस्वतीलाई विद्या र ज्ञानकी अधिष्ठात्री देवीका रूपमा पूजाआराधना गर्नुपर्ने वरदान प्रदान गरेको उल्लेख गरिएको छ।
यस अवसरमा विद्यार्थीहरूले देवी सरस्वतीको स्तुति गान गर्दै विद्यालयको वातावरण भक्तिमय बनाएका थिए। बिहानै प्रातः स्नान गरी सरस्वती माताको मूर्तिपूजा, गणेश-विष्णु-शिव लगायत अन्य देवी-देवताहरूको अर्चना गर्दै विद्यालयले धार्मिक परम्पराअनुसार पूजाको आयोजना गरेको थियो।
विद्यालयले यो विशेष दिनलाई सम्झनायोग्य बनाउन सांस्कृतिक कार्यक्रम, बालबालिकाका सिर्जनात्मक गतिविधिहरू तथा अभिभावकहरूका सहभागितामा विविध कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो।