म्याग्दीको तातोपानी कुण्ड संरक्षणमा जोड दिँदै अध्यक्ष प्रचण्ड
म्याग्दीको तातोपानी कुण्ड संरक्षणमा जोड दिँदै अध्यक्ष प्रचण्ड
    • बेल संचार

    • २२ माघ २०८१, मंगलवार

म्याग्दी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दी जिल्लाको प्रसिद्ध तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन्।

बिहानी पैदल यात्राका क्रममा बेनीको हरियालीचोकबाट तातोपानी कुण्ड पुगेका अध्यक्ष प्रचण्डले उक्त कुण्डको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। प्राकृतिक चिकित्सालयका रूपमा परिचित यस कुण्डको पानीले छाला, नशा, ग्यास्ट्रिक, बाथ लगायतका रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ।

प्रचण्डले आफ्नो सरकारको नेतृत्वकालमा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको र आवश्यक बजेट विनियोजन गरिएको बताए। उक्त योजना बहुवर्षीय टेण्डर प्रक्रियामा गइसकेको हुँदा तटबन्ध निर्माणको सुनिश्चितता रहेको उनले जानकारी दिए।

उनले केही वर्षअघि मन्त्रीहरुसहित कुण्डको निरीक्षण गरेको स्मरण गर्दै त्यसबेला यसको व्यापक प्रचार भएको बताए। अहिले पुनः भ्रमण गर्दा तातोपानी कुण्डको संरचनामा सुधार आएको र थप तातोपानीका मुहानहरू समेत फेला परेको जानकारी पाउँदा खुसी लागेको उनले व्यक्त गरे।

साथै, अध्यक्ष प्रचण्डले बेनी–ढोरपाटन सडक निर्माणलाई पनि आफ्नो पार्टीको प्राथमिकतामा राखिएको उल्लेख गरे। सडक निर्माण कार्य अघि बढिसकेको जनाउँदै उनले खोलाको सतह अझ गहिरिन नदिन स्थानीयवासीले अघि सारेको चेकड्याम निर्माणको प्रस्ताव सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

यस क्रममा उनले स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्दै म्याग्दी जिल्लाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित