नवलपरासी बर्दघाट–सुस्तापूर्व मा रु नौ करोड बराबरको सुन्तला उत्पादन
नवलपरासी बर्दघाट–सुस्तापूर्व मा रु नौ करोड बराबरको सुन्तला उत्पादन
    • बेल संचार

    • २३ माघ २०८१, बुधबार

नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), फागुन २ – यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ। जिल्लामा सुन्तला खेतीको क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिए।

गत वर्ष जिल्लामा रु सात करोड १८ लाख बराबरको सुन्तला उत्पादन भएको थियो। अमिला जातका फलफूल प्रवर्द्धन गर्न पहाडी क्षेत्रमा ‘जोन’ कार्यक्रम लागू भएपछि सुन्तला खेती गर्ने किसानको संख्या तथा खेती क्षेत्र दुवै बढ्दै गएको उनले बताए।

गत वर्ष जिल्लामा कूल २२६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा १४१ हेक्टर क्षेत्रफलबाट मात्रै उत्पादन लिइएको थियो। तर, यस वर्ष खेती क्षेत्रफल बढेर २५६ हेक्टर पुगेको छ, जसमा १६१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुन थालेको छ।

सूचना अधिकारी काफ्लेका अनुसार अघिल्लो वर्ष १,२२७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष १,४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जिल्लामा प्रत्येक वर्ष सुन्तला खेती विस्तार हुँदै गएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार ‘जोन’ कार्यक्रम लागू भएपछि किसानहरूलाई बिरुवामा अनुदान, यान्त्रिक र प्राविधिक सहयोग प्राप्त भएको छ। अन्य खेतीबाट राम्रो उत्पादन नभएकाले पनि किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।

हाल जिल्लाको बौदिकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, र गैँडाकोट नगरपालिका–१८ मा व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ। जिल्लाभर करिब ३,२०० किसान सुन्तला खेतीमा संलग्न रहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित